काठमाडौं। बाँकेको जमुनाह नाकाबाट पूर्वी क्षेत्रमा पर्ने दशगजामा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी काँडेतार लगाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, “भारतले सिमेन्टका पोल र काँडेतारले आफ्नो भू(भागमा लगाएको छ । जसले चोरीसिकारी र तस्करी रोक्नका लागि काम गर्छ।” काँडेतार भारतीय भूभागमा रहेको र दशगजा क्षेत्रमा नभएकाले यसबारे भारतको निर्णयलाई विवादको विषय नरहेको उनको भनाई छ । प्रजिअ रिजालले भने, “भारतले काँडेतार लगाउँदा सुरक्षा निकायसँग कुनै समन्वय गरेको छैन, र यो दशगजा क्षेत्र नभइ भारतीय भूभागमा पर्ने भएकाले समन्वयको आवश्यकता पनि छैन।”
त्यस क्षेत्रको अवस्थिति अनुसार, काँडेतार जमुनाहबाट लगभग १०० मिटर पूर्वमा देख्न सकिन्छ, तर नेपाली सुरक्षा अधिकारीहरूले कुन क्षेत्रसम्म काँडेतार लगाइएको हो भन्ने जानकारी छैन। भारतले काँडेतार लगाएको क्षेत्रले खेतीबारीको समय बाहेक अन्य समयमा नेपालबाट आउने गाईगोरु र अन्य जनावरहरूको चरिचरणलाई रोक्नका लागि गरेको अनुमान स्थानीयवासीहरूको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) का स्रोतले भने, भारतको वन विभागले काँडेतार लगाएको पुष्टि गर्दै जनावरहरूले बालिनाली नष्ट गर्ने कारणले यस्तो कदम उठाइएको बताएका छन्। एसएसबीका अनुसार, “काँडेतार सिमा अतिक्रमण रोक्नको लागि नभई, नेपाल र आसपासका जङ्गलबाट आउने जनावरलाई रोक्नका लागि लगाइएको हो।”