काठमाडौं । विवेकशील साझा युवा संगठनद्वारा आयोजित ‘नीतिशाला’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले नयाँ र वैकल्पिक राजनीतिको खाका प्रस्तुत गर्दै उज्जवल थापाको पहललाई नेपालमा वैकल्पिक राजनीतिको जग भएको बताइन्।
श्रेष्ठले आफ्नो सम्बोधनमा भनिन्, “नयाँ र वैकल्पिक राजनीति उज्जवल थापाजस्ता अग्रजहरूको इनिसिएटिभबाट सुरु भएको हो। त्यसबेलाको नेतृत्वले वैकल्पिक राजनीतिका लागि मञ्च तयार गर्यो, जसले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दललाई अघि बढ्न मार्ग प्रशस्त गर्यो।”
उनले परम्परागत क्याडर-आधारित पार्टीहरूको सट्टा समाजका समस्याहरू समाधान गर्न सक्षम चेन्जमेकर उत्पादन गर्नुपर्नेमा जोड दिइन्। “हामी उद्यमशील मैत्री समाज बनाएर समस्याहरू हल गर्न सक्ने नेतृत्व तयार गर्दैछौं, जसले आर्थिक रूपमा दलहरूप्रति निर्भर नभइ स्वतन्त्र भूमिका निर्वाह गर्न सकोस्,” उनले भनिन्।
श्रेष्ठले वैकल्पिक राजनीति मूल्य-आधारित र कार्यक्रम-आधारित हुनुपर्ने धारणा राख्दै भनिन्, “सूचना प्रविधिको विकासले ज्ञान र विश्वव्यापी सम्पर्कको पहुँच सहज बनाएको छ। अब यो क्षमतालाई उपयोग गर्दै राजनीति परिवर्तनको लागि सबैले न्यूनतम साझा कार्यक्रम र स्पष्ट फ्रेमवर्क बनाएर अघि बढ्नुपर्छ।”
श्रेष्ठले फरक सोच राख्ने समूहहरूबीच साझा मूल्य प्रणाली, स्पष्ट रेड लाइन, र कन्फ्लिट म्यानेजमेन्टका उपायहरूसहित एकीकृत रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिइन्।