काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे दोस्रोपटक बयान लिएको छ।
गुरुङलाई सीआइबीमा बोलाएर सोधपुछ गरिएको एसपी तथा सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। ‘उहाँ साढे बाह्र बजे आएर साढे चारसम्म बस्नुभएको थियो,’ बोगटीले देशसञ्चारसँग भने। सीआइबीले सहकारी जोडिएका विभिन्न विषयमा उनीसँग करिब ४ घन्टा सोधपुछ गरेको हो।
यसअघि गत कात्तिक २८ गते पनि प्रहरीले उनीसँग ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो। सहकारीका सञ्चालक धनराजकी पूर्वपत्नी ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ।
प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेकोबारे पनि सोधपुछ गरेको छ।
धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन्। उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस पनि जारी भएको छ। मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।
हामी आवश्यक पर्यो भने अर्को बयान पनि लिन्छौँ,’ एसपी बोगटीले भने।