काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव एवम् माओवादीका पूर्वउपाध्यक्ष मोहन वैद्य १५ दिनदेखि उपचाररत छन् । दम बढेपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको हो ।
उनलाई दमसँगै निमोनिया देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको नेता हरिभक्त कँडेलले जानकारी दिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ ।
‘महासचिव (वैद्य)को स्वास्थ्यमा सुधार भइरहेको छ । औषधिले काम गरेको डाक्टरको भनाइ छ,’ कँडेलले भने, ‘यसरी सुधार भयो भने चार–पाँच दिनपछि डिस्चार्ज गर्ने तयारी छ ।’
डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ । हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने सुझावलाई वैद्यले अस्विकार गरेको कँडेलले बताए । ‘यहीँ राम्रा डाक्टर हुनुहुन्छ ।
विदेश किन जानुपर्यो भनेपछि हामीले यहीँ उपचार गरिरहेका छौं,’ उनले भने ।