एजेन्सी । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमा जानकारी गराएको छ।
तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित यस पावर प्लान्टको स्थापित क्षमता १०० किलोवाट रहेको छ।
यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावरद्वारा विकसित गरिएको थियो। फ्रान्सेली राज्यको स्वामित्वमा रहेको पावर युटिलिटी ईडीएफ र तेल अवीभ–याफो नगरपालिकाको सहयोगमा ऊर्जा र पूर्वाधार मन्त्रालयको कोषमा निर्माण गरिएको हो।
यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ।
स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ।
परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ। राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ।
मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको जनाएको छ।


