काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ट्याब्लेट सहित शंखरापुर नगरपालिका-७ बस्ने ताप्लेजुङ घर भएका २२ वर्षीय आकाश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५९४५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २८ वर्षीय अभिमन्यु चौधरी र ३५ वर्षीय गणेश थारू रहेका छन् ।
इलाका प्रहरी कार्यलाय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । काभ्रे, रोशी गाउँपालिका-९ बाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल र नोर्फिन १ हजार एम्पुल सहित धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर बस्ने ४४ वर्षीय सुरेश मिजारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले बर्दिबास महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज.१ च १९०८ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।