काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ ।
केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।
७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।
भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।