धनगढी / कैलालीमा एक महिलाको घरबाट १६ किलोग्रामभन्दा बढी चरेस बरामद भएको छ। प्रहरीले शनिबार १६ किलो १८० ग्राम लागूऔषध चरेससहित महिलालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नं. २ तेघरी खानेपानी टोलस्थित बस्दै आएकी बझाङ बुंगल नगरपालिका वडा नं. २ दहबगर घर भएकी आइते धामीको श्रीमती ४५ वर्षीया मंगली देवी धामी समातिएकी हुन्।
उनको घरमा चरेसको ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो। सो क्रममा चरेस बरामद गरिएको हो। उनले घरको कोठाभित्र सेतोमा रातो धर्सेदार रंगको बोराभित्र भुसामा लुकाएर चरेस राखेकी थिइन्।


