काठमाडाैं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिँदा त्यस पोखरीको मुख कमजोर फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको बताए।
उनले भने,’ त्यो फुटेको कुरा स्पष्ट देखिन्छ। हामीहरू दुई राउण्ड हेलिकप्टरबाट फुटेजहरू लिएका थियौँ। त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो। जुलाई र अगष्टमा तापक्रम बढी भएको हामीले पायौँ। असार साउनमा तापक्रम बढी हुन लागेपछि यो फुट्न गएको हो भन्ने पुष्ट्याइँ त्यसले पनि गर्यो। हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत आई तल्लो तालमा गएर बजारियो। र तल्लो तालको मुख कमजोर भएको यो हुन गएको ह । यसमा तापक्रम वृद्धि नै यसको मुख्य कारण हो। ’
प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताए। उनले भने,’ म आफैँ पनि गएको थिए। पातलो जाकेट लगाएर जाँदा पनि त्यत्रो हाईटमा एकदम गर्मी भइराखेको थियो।’
प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयताले जनाएका थिए।
उनले भने,’ थामे बजारमा म आफैँले पनि गरेको अन्तरक्रियामा उहाँहरूले के भन्नु भयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको संकेत कालो, निलो खालको बादलहरू मडारिइरहेको कुराहरू गर्नुभयो। त्यो हुनासाथ उहाँहरु बौद्ध धर्म परम्पराअनुसार उहाँहरूले गएर पूजाआजा गर्ने, एउटा टोलीलाई त्यो तालसम्म गएर ध्यान गर्ने कुराहरू गर्नुभएको थियो। त्यो दिन बिहान पानी परेको थिएन। तर त्यो दिन झन कालो बादलहरू थियो। त्यसअघि त्यस्तो खालको कालो बादल उहाँहरूले नदेखेको कुरा हामीलाई राख्नु भयो । हपहप गर्मी र अनवरत रुपमा पानी परिरहेको थियो।
थामेमा गत साउन ३२ गते शुक्रवार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो।


