काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले महाधिवेशनबाट पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने जनाएका छन्।
नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले नेपालमा यसअघि कुनै पनि पार्टीले अगाडि नसारेको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउन लागेको जिकिर गरे।
उनले नेकपा (एकीकृत समाजवादी) सबै क्षेत्रमा अग्रपंक्तिमा उभिन चाहने पार्टी रहेको बताए। उनले पार्टीलाई सबै क्षेत्रमा अग्रपंक्तिमा उभ्याउन सबैको साथ र सहयोग चाहिएको उल्लेख गरे।
उनले भने, ‘अरुले अगाडि नसारेका तर हाम्रो पार्टीले पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम पनि अगाडि सार्न गइरहेको छ। यस अर्थमा पनि हाम्रो पार्टी सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहन्छ। तपाईंहरुको साथ र सहयोग हामीले सधैँभरी चाहिरहेका छौँ।’


