स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने उनको धारणा छ ।
२९ कात्तिकमा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पौडेलले लोकतन्त्रको पक्षमा आवाज उठाउने कांग्रेसलाई दबाउने प्रयास भइरहेको आरोप लगाए ।
निर्वाचन जित्दैमा कानुन मिच्ने छुट कसैलाई नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरे ।
कांग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै पौडेलले मुद्दा हाल्दैमा दुई जना सभापति नहुने स्पष्ट पारे । सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राखे ।
वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए । सरकारप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो ।
कांग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली कांग्रेसलाई राजनीतिको विश्वविद्यालयका रूपमा चित्रण गरे ।
उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिने जानकारीसमेत दिए ।


