काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्न गर्न सरकार दृढ रहेको जनाएका छन् ।
मंगलबार गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखलेमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले परिलक्षित गरेबमोजिम द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न गरेको दाबी गरे ।
शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवन निर्वाहभत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको जनाए ।
संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाएको प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको जनाए ।
उनले सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्नसक्ने गरी सुधारका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको जनाए ।
“संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्न गरेका छौँ । शान्तिप्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ । द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा हामीले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको छ । सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवन निर्वाहभत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको छ,” उनले भने, “विश्वव्यापी रूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा संघीय शासन प्रणालीलाई सुदृढ बनाएको छ । आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्नतीका लागि क्रियाशील रहेका छन् । राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादोन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ ।”
प्रधानमन्त्री प्रचण्डले लगानीको वातावरण सुधारका लागि यससम्बन्धी नीतिगत एवं कानूनी व्यवस्थाहरूमा परिमार्जन गरिएको बताए । देशका मजदुर, किसान, विद्यार्थी लगायतका सम्पूर्ण गरी खाने वर्गलाई ध्यानमा राखी आधारभुत आवश्यकताको परिपूर्तिमा ध्यान दिँदै बीउ, मल, पाठ्यपुस्तक, औषधीजस्ता वस्तुहरूको उपलब्धता र आपूर्ति सरल र पहुँचयोग्य बनाइएको उनको भनाइ छ ।