काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।
रेमल नाम दिइएको उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीय तर्फ अगाडि बढिरहेको जनाइएको छ ।
उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली “रेमल” चक्रवात आज राती बङ्गलादेश र पश्चिम बङ्गाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको विभागको भनाई छ ।
नेपालको सन्दर्भमा रेमल चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलवार नेपालको कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारण देखि पूर्णरुपमा बदली रहने जनाएको छ ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मंगलबार कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।