काठमाडौं । एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।
एकै सिजनमा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो महिलाको कीर्तिमान बनाएकी श्रेष्ठलाई सोमबार दिउँसो विमानस्थलमा स्वागत गरिएको हो।
उनले जेठ १२ गते बिहान ५ः५० बजे सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन्। उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो।
श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन्।
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन्।