काठमाडौं । सरकारले विभिन्न खेलका खेलाडीले पाउने पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्री परिषद्को बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन्।
चौथो एसियाली पारा खेलकुद सकिए लगत्तै राखेपले एसियाली खेलकुद र एसियाली पारा खेलकुदको पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रस्ताव गरेको थियो ।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन्।
एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन्। यो सँगै एसियाडमा एतिहासिक काश्य विजेता कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने छ।
यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्ने छन्।
आइसिसी मेन्स टी–२० विश्वकप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन्।
पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए।