जनकपुरधाम / धनुषामा छोरीको अन्तरजातीय विवाह गराएको भन्दै एक परिवारमाथि कुटपिट भएको छ। जिल्लाको मिथिला बिहारी नगरपालिका–१० बस्ने ९० वर्षीय मुर्ली झा र उनकी श्रीमती कलादेवी झालाई स्थानीयहरुले कुटपिट गरेका छन्।
गत मंगलबार साँझ छिमेकीहरुले ‘तिमीहरुले अन्तरजातीय विवाह गराएर सामाजिक सद्भाव बिगारेको’ भन्दै कुटपिट गरेका हुन्।
पीडितकी बुहारी सरिता झाले जिउज्यानको सुरक्षा माग गर्दै वडा सदस्यसमेत रहेका स्थानीय ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा र २० वर्षीय नरेश झाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी छन्।
गत सोमबार सरिताकी २३ वर्षीया छोरी महिमा झाले धनुषाधाम नगरपालिकाका प्रहन्द शिवहरेसँग प्रेम विवाह गरी हाल काठमाडौँमा बस्दै आएकोमा छिमेकीहरुले उनीहरुलाई घरमा बोलाइ विवाह खारेज गर्न दबाब दिँदै ससुरा र सासुलाई कुटपिट गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।
सासु, ससुरा र छोरी नाता पर्ने काजल झाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेकाले यो कार्य सामाजिक सद्भाव बिगार्ने खालको रहेको भन्दै स्थानीयहरुले सामाजिक बहिष्कारसमेत गरेका छन्। विवाह गरेकै दिन सोमबार पञ्चैती बसेर छिमेकीहरुले आफूहरुलाई मंगलबार कुटपिट गर्दै बहिष्कार गरेको काजलले बताइन्।
धर्मकान्त झासमेतले काजलको समेत विवाह छिटो नगराए उनीहरुको जीवनको ‘खैर नरहने’ भन्दै कुटपिट गरेको पीडित परिवारको आरोप छ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले प्रहरीमा उजुरी परेको भन्दै छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए।