नेपालगञ्ज / श्रीमतीको हत्या गरेको आरोपमा बाँकेको कोहलपुरबाट एक युवा पक्राउ परेका छन्।
बर्दिया बाँसगढी नगरपालिका घर भएका २२ वर्षीय अनिल विकले घरासयी विवादमा चक्कुले ढाडमा हान्दा श्रीमती सुशीला सुनारको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।
अनिल कोहलपुर– १४ पार्वतीपुरमा रहेको हेमपाइप उद्योगमा काम गर्थे। डेढ महिनादेखि त्यहाँ काम गरेका अनिल त्यहीँ बस्थे। घरायसी विवादमा अनिलले गएराति श्रीमती सुशीलालाई चक्कु हानेका थिए।
आवेगमा आएर चक्कु हानेका अनिलले श्रीमती गम्भीर घाइते भएपछि अंकललाई बोलाएर अटोरिक्सामा राखेर मेडिकल कलेज पुर्याएका थिए। उपचारको क्रममा सुशीलाको मृत्यु भएको थियो।
प्रहरीले अनिललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।