–निमकान्त पाण्डे
नेपालका वामपन्थी दलहरुबीच कार्यगत एकता र सकेसम्म एकीकरण नै गरी राजनीतिक यात्रा अघि बढाउनुपर्नेमा पंक्तिकारले लामो समयदेखि जोड दिइराखेको छ । तीन साताअघि मात्रै यही पत्रिकामा मैले नेपालका कम्युनिस्ट दलहरुलाई सम्बोधन गर्दै ‘साझा वाम एजेन्डा बनाऊ, नत्र वाम मुकुण्डो फाल’ शीर्षकमा आलेख नै लेखेको पनि थिएँ । वामपन्थी दल माओवादी केन्द्रको कांग्रेससँगको चुनावी तथा सत्ता गठबन्धन अप्राकृतिक मात्र नभई देश र जनताको हितमा पनि नरहेको मेरो मत थियो । दक्षिणपन्थी तथा पूँजीवादी दल कांग्रेसलाई उसकै बाटोमा हिँड्न दिनुपर्ने, उसका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न छोडिदिनुपर्ने मेरो सधैं भनाइ रहँदै आएको छ । साथै, माओवादी, एमाले जस्ता वामपन्थी दलहरुले अन्य कम्युनिस्ट दलहरुलाई पनि एकत्रित गर्दै सामूहिक सहभागितामा अघि बढ्नुपर्नेमा मेरो जोड थियो ।
कांग्रेस र कम्युनिस्ट आआफ्नो बाटोमा हिँड्नुपर्ने कारण हो, दुवैका अलगअलग सिद्धान्त । निश्चय नै पुँजीवादी व्यवस्थाको पक्षपोषक कांग्रेसका आफ्नै सिद्धान्त, राज्यसञ्चालनमा फरक तौरतरिका छन् । कम्युनिस्ट दलहरुको सिद्धान्त, नीति र गन्तव्य कांग्रेसभन्दा बिल्कुल फरक छन् । त्यसैले दुई ध्रुवमा रहेका यी दलहरुबीच चुनावदेखि सत्तासम्मको गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएकाले यो अप्राकृतिक गठबन्धन रहेको मत मेरो सधैं थियो । यही विगत केही वर्षयता कांग्रेस, कम्युनिस्ट दलबीचको सहकार्यमा बनेका दलहरु सफल पनि हुन सकेका छैनन् । विगत एक वर्षको सरकारको कामको रेकर्ड हेर्ने हो भने पनि आर्थिक संकटमा फसेको मुलुकलाई उकास्न उक्त गठबन्धनले खासै काम गर्न सकेको देखिएन । देशमा रोजगारी सृजना, किसान तथा व्यवसायी, उद्योगीलाई काम तथा उत्पादन गर्ने वातावरण, महँगी नियन्त्रण लगायत क्षेत्रमा सरकारले काम गर्न सकेन । विकास निर्माण त झन् ठप्पप्रायः नै रह्यो । देशमा उत्साहजनक कामको घोषणा हुन सकेन । सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नका लागि केही प्रयास ग¥यो तर त्यो माथिल्लो तहका आरोपितहरुलाई कारबाही गर्ने तहसम्म पुग्न सकेन । त्यही कारण सरकारको एक वर्ष पुगेको अवसरमा प्रचण्डले आफ्नो सरकार र मन्त्रिमण्डलप्रति असन्तुष्टि जनाए । अहिलेसम्म खासै काम गर्न नसकेको तर आगामी दिनमा यस्तो गुनासो गर्ने अवस्था नरहने प्रतिबद्धता जनाए ।
तर, राजनीतिक यात्रामा अमिल्दो रुपमा अघि बढिरहेको कांग्रेस–माओवादीको गठबन्धन फागुन २१ देखि टुटेको छ । फेरि कम्युनिस्ट दलहरु एकत्रित भएका छन् । रास्वपा, जसपा लगायत दल पनि सरकारमा सहभागी हुने भएका छन् । यो खबर कम्युनिस्ट वृत्तमा उत्साहजनक भए पनि विश्वस्त हुने आधार भने विगतका घटनाक्रमले गर्दा दिन सकेको छैन । विगतमा एमाले र माओवादीबीचको एकीकरणले नेकपा घोषणा हुँदा एउटा ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको उदय भएको थियो । यसले नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरुले पाएको बद्नामीलाइ मेट्ने र विकासको मूल फुटाउने अपेक्षा गरेको थियो । कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा पु¥याउने आशा गरिएको थियो । त्यो आशा धेरै समयसम्म टिक्न सकेन । यस्तो अवस्था फेरि ननिम्तिएला भन्न सकिँदैन ।
त्यसो भए, कम्युनिस्ट सहकार्यलाई सफल र देश तथा जनताकेन्द्रित कसरी बनाउने ? यसको एउटै उत्तर हो, नेताहरु विगतमा जस्तो आफ्नो स्वार्थकेन्द्रित नभई जनता केन्द्रित हुने । श्रमिक, विपन्न, किसान, युवा, महिला, बालबालिका र वृद्धवृद्धाका आम समस्यामा केन्द्रित हुने । तिनलाई तत्कालीन र दीर्घकालीन समाधानमा सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने । राष्ट्रलाई आत्मनिर्भर बनाएर वैदेशिक हस्तक्षेप अन्त्य गर्ने । यति काम गर्न सके मात्र वाम गठबन्धन सफल हुनेछन्, नेताहरु सफल हुनेछन् ।
इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास यो गठबन्धनले गर्न आवश्यक छ । यसले नेपाली कम्युनिस्ट पाटीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको गठबन्धनलाई एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् । जनधारणा साप्ताहिक