राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु (जिबी) राईमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ।
लामिछाने र राईले हजारौँ बचतकर्ताको करोडौँ रुपैयाँ खाइदिएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री कार्यालय मातहतको विभागले छानबिन अघि बढाएको हो। विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ।
विभागले नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ। चिठीमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।
राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए।
विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।