काठमाडौं / सरकारमा रहेको नेकपा माओवादी केन्द्रले गत मंगलबार जनयुद्ध दिवस मनाउँदै गर्दा यही अधुरो युद्धको बाछिटाहरु फेरि देखिन थालेका छन् । माओवादीले समाजवाद स्थापना, अन्याय तथा अत्याचारमा परेका शोषित, पीडितका लागि हतियार उठाएको र सत्तामा पुगेर त्यसलाई पूरा गर्ने उद्घोषका साथ हतियार उठाएको थियो । तर, आफ्नो वचन पालना नगर्दा यसको असरस्वरुप अन्य युवा फेरि हतियार उठाउने अवस्थामा आइपुगेका छन् ।
हालै मात्र प्रहरीले भूमिगत संगठनका नाममा धाकधम्की दिई शैक्षिक संस्थाबाट चन्दा माग गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । मोरङ तथा अन्य जिल्लाहरुमा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गरिरहेको मोरङ जिल्ला प्रहरीले जनाएको छ । चन्दा नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गत माघ २९ मा पक्राउ गरेको हो ।
पक्राउ परेका इलामका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरका ३० वर्षीय विपिन अधिकारीको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ इन्च लामो डेडकर्ड, सोडा आधा केजी, सहयोग रसिद २ ठेली, आर्थिक सहयोग सम्बन्धी लेखिएको पत्र ५ थानलगायत बरामद भएको छ । यही समूहले विराटनगर–३ मा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो बनाइराखेको र उक्त वस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धका उद्देश्यहरु सरकारमा पुगेको दुई दशक पुग्न लाग्दा पनि पूरा नहुँदा यसको असरहरु अहिले प्रशस्तै देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण माथिको मोरङको घटना हो । शान्तिप्रक्रियामा पुगेको केही वर्षमा नै विभाजित भएको माओवादीबाट अहिले डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव लगायतको छुट्टाछुट्टै पार्टी छ । माओवादीबाटै केही नेताहरु अहिले नेकपा एमालेमा पुगेका छन् । तर, पार्टीको तीन दशक नेतृत्व लिएर पनि प्रचण्डले जनतालाई मात्र होइन, पार्टीकै नेता कार्यकर्ताको चित्त बुझाउन सकेका छैनन्, जसका कारण हरेक निर्वाचनमा माओवादी केन्द्र खुम्चिँदै गएको छ ।
देश रूपान्तरण गर्ने लक्ष्य लिएर करिब तीन दशकअघि हतियार उठाई तत्कालीन शासन सत्ताविरुद्ध सशस्त्र युद्ध थालेको र त्यसपछि शान्ति प्रक्रियामा आई संविधानसभा निर्वाचनमा पहिलो पार्टीसमेत बन्न सफल भएको नेकपा माओवादी केन्द्र अब आफ्नै पार्टीमा व्यापक रुपान्तरण आवश्यकता देखिएको छ । राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्न माओवादीले धेरै काम गर्नुपर्ने देखिन्छ ।
माओवादी अहिले सत्तासीन दल हो । गत चुनावमा तेस्रो दल भए पनि नेपाली कांग्रेसलगायत दलसँगको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट अन्य नेता पनि मन्त्री छन् । सामान्यतया सरकारमा हुनु भनेको काम गर्ने ठाउँमा हुनु हो । माओवादी पनि अहिले देशको जिम्मेवारी बोकेर काम गर्ने ठाउँमा छ । यहाँ उसलाई गुनासो मात्र गरेर बस्न पाउने छूट छैन । सरकारको काम भनेको जनताको सेवा हो, उनीहरुलाई सुविधा प्रदान गर्नु हो । देशको अर्थतन्त्रलाई बलियो बनाउनु हो । रोजगारी वृद्धि र किसान, श्रमिक तथा सर्वहारा वर्गको उत्थान गर्नु सरकारको कर्तव्य हो । जनतालाई राहत पुग्ने खालका कार्यक्रमहरु सरकारबाट लागू गर्न दबाब सृजना गर्ने काम मात्र सत्तासीन पार्टीले गर्ने हो भने जनताबीच त्यो पार्टीको लोकप्रियता अवश्यम्भावी बढ्छ । अझ सरकारले नै पार्टीका सुझावलाई सम्बोधन गर्ने हो भने अरु पार्टीको प्रतिस्पर्धा पनि सम्भव हुँदैन । देशको बिग्रँदो अर्थतन्त्र, बैंक तथा वित्त, स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रको चरम विकृति, सर्वसाधारणको कठिनाइपूर्ण जीवनस्तर, बेरोजगारी जस्ता क्षेत्रमा सरकारले काम गर्न सकेमा मोरङका जस्ता घटना दोहोरिने छैन ।
६० को दशकमा माओवादी शान्ति प्रक्रियामार्फत संसदीय व्यवस्थामा आउँदा राजनीतिमा परिवर्तन आउने आम जनमानसको अपेक्षा थियो । तर, त्यसविपरीत माओवादी नेतामा नै स्वार्थ हाबी हुँदा माओवादी अवसरवादी पार्टीको रुपमा चित्रित भयो । माओवादी लगायत पुराना दलप्रति वितृष्णाको मत अहिले नयाँ पार्टी तथा स्वतन्त्र उम्मेदवारले पाइरहेका छन् । माओवादीले पनि आफ्नो गल्तीलाई महसुस र सुधार आवश्यक छ ।