काठमाडौँ / गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम तयार गरेको छ । गृह सचिव दिनेश भट्टराईको नेतृत्वमा भिजिट भिसाको प्रयोगबाट सिर्जित समस्यालाई समाधान गर्न भन्दै अल्पकालीन मापदण्ड तय गरिएको हो । नयाँ मापदण्ड बुधबारदेखि लागू हुने भएको छ ।
भिजिट भिसा र यसबाट सृजित समस्या तथा समाधानका उपायहरू सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न छुट्टै कार्यविधि तयार भई नआउन्जेलसम्म अध्यागमन विभागले यो मापदण्ड लागू गरेको हो । विभागका अनुसार खाडी मुलुकभन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाउनेछन् ।
त्यस्तै न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/ व्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका, आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमाबाबु, सासूससुरा, छोराछोरी, श्रीमान्–श्रीमती र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदारसमेत), गन्तव्य मुलुकमा रहेको राजदूतावास/नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरूलगायत पनि भिजिट भिसामा जान पाउने छन् ।
वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय भई कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू, नेपाली दूतावासको सिफारिसबमोजिम बिरामी कुरुवा वा रेखदेखको कार्य गर्न जाने तीन पुस्ताभित्रका पारिवारिक सदस्यहरूले पनि भिजिट भिसा प्रयोग गर्न पाउने छन् । विभागले ‘भिजिट भिसा उक्त मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजन र पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र’ भएको जनाएको छ ।
‘भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो । यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ,’ विभागले यात्रा परामर्श जारी गर्दै भनेको छ, ‘भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकाले भिजिट भिसामा पठाउनका लागि सेटिङका नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउनु हुन अनुरोध छ ।’
भिजिट भिसामा विदेश गएर तोकिएको अवधिभित्र स्वदेश नफर्किने प्रवृत्ति बढेपछि विभागले नयाँ मापदण्ड लागू गरेको हो । विभागले भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गर्ने, झूटा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्यअनुरूप मात्र कार्य गरी आफूलाई पूर्ण रूपमा सुरक्षित राख्न थप सजगता अपनाउन अनुरोध गरेको छ । श्रम गन्तव्य मुलुकमा भिजिट वा पर्यटक भिसामा नभई वर्किङ भिसामा सरकारबाट श्रम स्वीकृति लिएर मात्र जान पनि विभागको अनुरोध छ ।

