काठमाडौँ / रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबार थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् ।
यसअघि स्याङ्जा, पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको मृत्यु भएको थियो । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको हालसम्म आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।
त्यसैगरी, रुसी सेनामा भर्ती भएका ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् । असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको युक्रेनी सेनाले सार्वजनिक गरेपछि काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई पनि क्रमशः युक्रेनी सेनाले कब्जामा लिएको थियो । परराष्ट्र मन्त्रालयले उनीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अन्य कूटनीतिक माध्यमहरूबाट पहल भइरहेको जनाएको छ । साथै, जर्मनीस्थित नेपाली दूतावासले त्यहाँको युक्रेनी दूतावाससँग भेटवार्ता गरेर उनीहरूलाई छुटाउनका लागि पहल गरेको छ । युक्रेनले त्यसबारेमा आफूले बुझ्ने जवाफ दिएको छ ।
गैरकानुनी रूपमा रुसी सेनामा भर्ती गराई युद्धमा लगाइएका नेपालीहरूको अवस्था बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रुस जाने भएका छन् । बिहीबार हुने नेपाल–भारत सातौं परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री साउदको रुस जाने मितिको टुंगो लाग्ने परराष्ट्र स्रोतले बतायो । नेपाल सरकारले रुसी सेनामा नेपालीलाई सामेल नगर्न र भर्ना भएकाहरूलाई समेत यथाशीघ्र फिर्ता गर्न पटक–पटक आग्रह गरे पनि रुसले बेवास्ता गर्दै आएको छ । रुस नेपालीका विषयमा गम्भीर नबनेपछि मन्त्री साउद आफैं मस्को जान लागेका हुन् ।
‘सरकारले रुसलाई कूटनीति नोट पठाएर र नेपालस्थित रुसी राजदूत एलेक्सेई नोभिकोभलाई समेत बोलाएर पटक–पटक नेपालीहरूका बारेमा जानकारी मागे पनि रुसले प्रस्ट जवाफ दिएको छैन । त्यसैले अवस्था बुझ्न परराष्ट्रमन्त्री नै त्यहाँ जान लागेका हुन्,’ परराष्ट्र स्रोतले भन्यो । परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा रुसी पक्षसँग नेपालको विदेशी सेनामा भर्ती हुने नीति, त्यहाँ नेपालीहरूको संख्या र अवस्था तथा मृत्यु भएका र घाइतेलाई फर्काउने विषयमा कुरा गर्ने बताइएको छ । साथै, मन्त्री साउदले सेनामा भर्ना भएर काम गरिरहेका नेपालीहरूलाई फर्काउनका लागि पनि रुससँग स्पष्ट भनाइ राख्ने उल्लेख छ । परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएका मध्ये एक सय जना सम्पर्कविहीन रहेको निवेदन आफूहरूलाई प्राप्त भएको बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसअघि नै करिब दुई सय नेपाली रुसी सेनामा भर्ना भएको उल्लेख गरिसकेका छन् ।
रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा पहिलो पटक साउन १६ मा परराष्ट्रले विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र (भारत र बेलायत) बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको उल्लेख गरेको थियो । दोस्रो पटक, मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट जारी गरेको थियो । रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूत तुलाधरले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । राजदूत एलेक्सेईलाई मंसिर तेस्रो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो ।
पछिल्लो पटक गत पुस ४ मा पनि परराष्ट्रमन्त्री साउदले रुसी राजदूत नोभिकोभलाई बोलाएर नेपालीलाई पूरा तालिम नदिईकनै ‘रेड जोन’ मा पठाउने गरिएकामा त्यसो नगर्न र त्यहाँ भएका नेपालीलाई यथाशीघ्र फिर्ता गर्न आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पुर्याउने’ प्रतिबद्धता जनाएका थिए ।
रुस र युक्रेनबीच १७ सय किलोमिटर सीमा क्षेत्रमा विगत दुई वर्षदेखि युद्ध जारी छ । सिमाना र युक्रेनी भूमिमा पनि नेपाली तैनाथ छन् । रुसी सेनाले युद्धकालसम्बन्धी पूरा तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढिरहेको छ । तर, रुसले विवरण सार्वजनिक गरेको छैन । नेपाली युवा एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती हुँदै आएका छन् । जुन गैरकानुनी हो ।
तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने रुसी सेनाको प्रावधान छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरूले आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गर्दै आएका छन् ।