मोरङ / विराटनगरमा १४ वटा मोटरसाईकल चोरी गरेको आरोपमा दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पछिल्लो केही महिनादेखि मोटरसाइकल हराउने क्रम बढ्दै गर्दा सुनसरीस्थित भोक्राह नरसिंह र हरिनगरा गाउँपालिकाका दुई जनालाई पक्राउ गरेको हो।
प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भोक्राहका २१ वर्षीय निकाइल अन्सारी र हरिनगराका ३९ वर्षीय नजाम अन्सारीलाई शुक्रबार पक्राउ गरिएको बताए।

पक्राउ गरिएका दुवै जनालाई आइतबार जिल्ला अदालतमा चोरी कसुर र लागु औषधमा पाँच दिन म्याद थप गरि अनुसन्धान सुरु भएको उनले बताए।
प्रवक्ता दाहालले मोटरसाइकल चोरीसँगै नजाम अन्सारीको साथबाट प्रहरीले १ दशमलव शुन्य ३ ग्राम खैह्रो हिरोइन जस्तो देखिने पदार्थ समेत फेला परेको बताए।
उनका अनुसार दुवैजनाले विराटनगरस्थित नोबेल अस्पताल क्षेत्र, मेनरोड सेन्ट्रल मल, कोसी अस्पताल, गुद्री बजार, मालपोत कार्यालय, विराट शिक्षण अस्पताललगायत स्थानबाट मोटरसाइकल चोरी गरेका हुन्।

