बारा । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विश्वकर्मालाई नियन्त्रणमा लिइएको डिएसपी मीनबहादुर घलेले जानकारी दिए ।
‘उहाँ यही हुनुहुन्छ । अहिले सोधपुछ भइरहेको छ,’ घलेले भने ।
किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो।
भिडियोमा किशोरले घटनाबारे बयान दिइरहेको देखिन्छ।
प्रहरीले बयानको भिडियो बाहिरिएको विषयमा अनुसन्धान गर्दा भिडियो खिच्ने प्रहरीबाटै सार्वजनिक भएको हुनसक्ने देखिएपछि उनलाई पक्राउ गरिएको हो।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीविरुद्ध फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको उनले बताए।
भिडियो खिच्ने क्रममा पाँच जना प्रहरीको उपस्थिति देखिएको र उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


