मोरङ / विराटनगरमा एटिएम मेसिन फोर्दै गर्दा एक युवक पक्राउ परेका छन्। बिहीबार बिहान करिब ३ बजे महानगरपालिकाको महेन्द्र चौक क्षेत्रमा रहेको नबिल बैंकको एटिएमको मेसिन फोर्दै गर्दा प्रहरीले ३० वर्षीय मुकेशकुमार कामतलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार कामतलाई बिहानीपख मेसिनमा चक्कु र चाबी प्रयोग गर्दै गर्दा पक्राउ गरिएको हो।
प्रहरीले कामतलाई पक्राउ गर्दा २ थान चाबी र फलामको सानो चक्कु बरामद भएको जनाएको छ। महानगरपालिका ११ को स्थानीय कामत महेन्द्रचौक नजिक रहेको गुद्रीबजारमा भाडाको कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।