काठमाडौं । कर्णाली भूकम्पको विपत्तिलाई लिएर चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना समकक्षी रामचन्द्र पौडेललाई शोक सन्देश पठाएका छन्। उनले चीन नेपालको विपत्तिमा सहयोग पुर्याउन तत्पर रहेको पनि उल्लेख गरेका छन्। शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमको सीमावर्ती क्षेत्रमा केन्द्र बनाएर गएको भूकम्पमा परि १५७ जनाको मृत्यु भइसकेको छ भने सयौँको संख्यामा घाइते भएका छन्। सोही विपत्तिलाई लिएर चिनियाँ सीले शोक सन्देश पठाएका हुन्।
आफ्नो सन्देशमा सीले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र धनजनको क्षति भएको थाहा पाएपछि आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
‘चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभयो, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभयो र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। सीले पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपत् सहयोग गर्न चीन इच्छुक रहेको बताए,’ सीको शोक सन्देशलाई उदृत गर्दै नेपालस्थित चिनियाँ राजदूत छेन सोङले बताएका छन्।