काठमाडौँ / सरकारले जाजरकोटमा शुक्रबार राति गएको भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जानकारी दिएको छ।
शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युड भूकम्प गएको थियो। भुकम्पमा एक उपमेयरसहित कम्तीमा ५० को ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ।
स्वास्थ्यकर्मी र औषधिको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतबाट स्वास्थ्यकर्मी तथा औषधि पठाउन लागिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।