काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको दाबी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
संसदीय व्यवस्था भने पनि सांसदका कुरा लागू हुँदैनन् : अध्यक्ष राउत उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको जनाए। उनले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरु आएको बताए । उनले जनताका गाँसबास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौं । हिजो पनि संसदमा सुन्नुभएको होला । भन्नलाई संसदीय व्यवस्था भन्छौं तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन । दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ । त्यो व्यवस्थालाई चिर्ने । दुई चार जना नेताले मात्रै ३०/३५ वर्ष देश चलाइरहेको छ । तिनीहरुको सेरोफेरोमा देश घुम्दै आएको छ ।
जनताले के चाहेको हो ? गाँसबास र कपास । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा । जनताले चाहेको कुरालाई नै सम्बोधन गर्न जनताकै मत अनुरुप चल्ने पार्टी जनमत पार्टी हो । त्यसैले जनमत पार्टी नाम राखेका हौँ । जनमत पार्टी पहिलो प्रयासमै निर्वाचनमा भाग लिएपछि पहिलो पार्टी बन्न सफल भयो ।
आगामी दिनमा जनमत पार्टी यो देशकै भविष्य हो । वैकल्पिक धारको रुपमा स्थापित छ ।’ अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको जनाए । उनले पार्टीलाई राष्ट्रव्यापी रुपमा बिस्तार गर्ने बताए । उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको जनाए।