काठमाडौं । गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई दिइएको सजाय छुटविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार दिउँसो आदेश सुनाउने भएको छ।
मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएको रिटमा बुधबार दुवै तर्फबाट बहस सकिए पनि बिहीबारका लागि निर्णय सुनाउने (निसु) राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
रिटको सुनुवाइका लागि कामय मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु सपना प्रधान मल्ल एवं कुमार चुडाल सम्मेलित पूर्ण इजलास गठन गरिएको छ।
संविधान दिवसको अवसर पारेर चेतन मानन्धरलाई क्रुरता पूर्वक हत्या गरेको अभियोगमा दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेको ढकाललाई सजाय छुट दिइएको थियो। कैद मिनाह भएका उनलाई पुनस्पक्राउ गरी सजाय दिन माग राख्दै उनी पूर्व पत्नी भारती मानान्धरले रिट निवेदन दिएकी हुन्।
२०७२ असार २८ गते बाँकेको नेपालगञ्ज १६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।
हत्या प्रकरणमा बाँके जिल्ला अदालतले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।
२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका हुन्।
८ वर्ष कैद बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी तत्कालीन पत्नी भारतीले रिट दायर गरिन्। रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयसहितलाई विपक्षी बनाइएको छ।
बिहीबार सर्वोच्चले संविधान दिवसका अवसरमा जघन्य घटनाका दोषी रिगललाई दिएको सजाय छुट ठीक वा बेठिक भन्ने निर्णय सुनाउनेछ।