पोखरा / तनहुँमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। शुक्रबार बिहान ४ बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिपबाट तनहुँकै २ युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा व्यास नगरपालिका–२ अमरापुरी बस्ने २२ वर्षीय पवनकुमार महतो र ऋषिङ गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
उनका अनुसार रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग २ ख ६९२ नम्बरको बस पृथ्वीराजमार्गको चेकजाँचको क्रममा उनीहरुको साथबाट लागुऔषध फेला परेको हो।
डाइजोपाम ६९ एम्पुल, फेनरागन ६९ एम्पुल, टाइनाजेसिक ५७ एम्पुल र नुर्फिन १२ एम्पुल गरेर २०७ एम्पुल लागुऔषध बरामद गरेको डिएसपी खाँणले बताए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ।