दाङ / बैंकबाट रकम निकालेर जाँदै गरेका एक व्यक्तिको १ लाख रकम लुटेर भाग्दै गरेका दुई जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो १ तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट निकालेको एक लाख रुपैयाँ लुटेर भागेका तुलसीपुर – ९५ का २१ वर्षीय आयुष विक र सोही ठाउँका १८ वर्षीय सुनिल मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए।
लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तुलसीपुर–१० राइखल्यानबाट दुई युवालाई नगद १ लाख रुपैयाँ र एक थान मोवाइलसहित पक्राउ गरेको हो।