झापा । दमक नगरपालिका-१ कुमाल चोकस्थित रूवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ईलाम चुलाचुली गाउँपालिका-३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त रोष्ट हाउसका संचालक विशाल कुमाल, दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २२ वर्षीय सनम राई, सोही नगरपालिका-१ नवदुर्गा टोल बस्ने २२ वर्षीय आनन्द भन्ने राज कुमार भुजेल, सोही नगरपालिका-१ पाङमी चोक बस्ने २५ वर्षीय नामुद थेव, सोही नगरपालिका-१ फाल्गुनन्द चोक बस्ने २६ वर्षीय आकाश केरुङ, सोही नगरपालिका-७ पशुहाट टोल बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २८ वर्षीय सलमान लिम्बु, ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३१ वर्षीय सन्दिप राई, सोही गाउँपालिका-३ बस्ने ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राई, झापा दमक नगरपालिका-७ राधाकृष्ण टोल बस्ने १८ वर्षीय किशोर र मोरङ बिराटनगर महानगरपालिका-६ अमाननगर बस्ने २९ वर्षीय मफुद मिया रहेका छन् ।
उक्त रोष्ट हाउसमा असोज १२ गते बिहान सनम राईसमेत १० जना मादक पदार्थ सेवन गरी विवाद हुँदा सनम राईले लुकाई राखेको छुराले गोविन्दलाई प्रहार गरी हत्या गरी फरार भएका थिए । घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तत्काल खटिएको प्रहरीले सोही दिन ८ जनालाई, थप अनुसन्धानको क्रममा मोरङ उर्लाबारी नगरपालिका-१ टप्पु टोल उर्लाबारी-मधुमल्ला सडकमा प्र.१-०१-०१२ प २९५३ नम्बरको मोटरसाइकल रोकी राखेको अवस्थामा ३ जनालाई र घटनामा प्रयोग भएको छुरा व्यवस्थापन गर्न सहयोग पुर्याउने मियालाई समेत पक्राउ गरेको हो ।
उक्त हतियार सोही महानगरपालिका- ९ स्थित रोड शिक्षादिप कलेजको पार्किङ छेउमा रहेको झाडीबाट बरामद भएको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।