काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ ।
मंगलबार प्रतनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले गृहमन्त्रीले सोमबार हेटौंडामा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । ‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो । सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर,’ उनले भने, ‘कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’
उनले गृहमन्त्रीमाथि थप प्रश्न गरे, ‘एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पक्राउ पर्यो, गन्तव्यसम्म पछ्याएर गएर सबै समाउन किन सकिएन ?’
‘एक क्विन्टल सुन पक्राउ पर्यो । त्यो ओसार्ने ट्याक्सी ड्राइभर, मेरो सामान हो भनेर बुझ्ने मान्छे, भरिया नै होला, त्यसलाई अलि परतिर पुर्याएर आवश्यक परेको बखत हाजिर हुनेछु भन्ने कागज गराएर मान्छे भगाउ, समान लगाउ, छिटो गर, जाउ भनेर पठाइयो । नत्र किन पठाएको ?’
प्रमाणपत्रमा शंका लाग्यो भनेर सांसद सुनिल शर्मालाई थुनेको सरकारले एक क्विन्टल सुन तस्करी गर्नेलाई छाडेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘म गृहमन्त्रीजीलाई सोध्न चाहन्छु, यही हो सुशासनको अभियान ?’