काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन्।
मन्त्री गुरुङले कार्यप्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्ट्याएकी हुन्।
सोमबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोहीअनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै सुरु गर्ने गरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटक–पटक ताकेता गरेको पनि बताइन्।
म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिनाभित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुने गरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गरिन्।
सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन सो भवन ०७९ असोज १६ भित्र यसको निर्माण सकिसक्नुपर्ने थियो। तर दुई पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। टुन्दी/सेक जेभीले सो भवनको ठेक्का ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको थियो।