पोखरा / पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी भएको छ। डिजेल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले २ युवालाई पक्राउसमेत गरेको छ।
बिहीबार बिहान आँबुखैरेनी गाउँपालिका–२ ढाँपटारमा पार्किङ गरी राखेको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीको रोलरबाट डिजल चोरी भएको हो।
चोरीमा संग्लन बन्दीपुर गाउँपालिका–५ याम्पाका २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का रामबहादुर चमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट गस्तीमा खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको डिएसपी खाँणको भनाइ छ।
‘रोलरबाट ११० लिटर डिजल चोरी गरेर बा २० च ७४९ नम्बरको इसुजु हाइलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो’, डिएसपी खाँणले भने।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थप गरेर थुनामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।