काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताएका छन्।
नेपाल नागरिक उडड्यन प्राधिकरणको सिनामंगलमा निर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले विज्ञ समूहले दिएको सुझावको आधारमा सो विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रिपरिषद् बैठकले ठोस निर्णय लिने बताएका हुन्।
उनले आफ्नो चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमास्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने विषयमा छलफल केन्द्रित हुने पनि उल्लेख गरे।
उनले पूर्वाधार विकास र हवाई सुरक्षाको क्षेत्रमा थप स्पष्ट नीति, कार्यक्रम र कार्ययोजनाका साथ अघि बढ्न पनि नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई निर्देशन दिए। प्रधानमन्त्री दाहालले हवाई सुरक्षाका निम्ति नागरिक उडड्यन प्राधिकरणले गरिरहेको पहलको पनि प्रशंसा गरे।


