पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीबाट बर्खास्तमा परेका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको दुष्प्रचार गर्ने युवक पक्राउ परेका छन्।
विद्युत्तीय कारोबार ऐन २०६३ विपरीतको कसूर (साइबर अपराध) मा स्याङ्जाको आँधीखोला गाउँपालिका–५ ठूलीबराहाका ३५ वर्षीय सूर्यबहादुर रेग्मी पक्राउ परेका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद तर विवादस्पद व्यक्ति डा. ढाकाकमुार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवासअगाडि धारिलो हतियार प्रयोग गरेको छ। उनलाई मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी’ लेखेर रेग्मीले भदौ २२ गते फेसबुकमा फोटोसहित पोस्ट गरेका थिए।
सूर्य रेग्मी नामको फेसबुकबाट उक्त स्टाटस पोस्ट भएपछि डा. श्रेष्ठले भदौ २३ गते नै जिल्ला प्रहरी कार्यालयमा अनर्गल प्रचारले भ्रम फैलाएकाले आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै निवेदन दिएका थिए।
डा. श्रेष्ठले बुधबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। पक्राउ परेका रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विपरीतको कसूर (साइबर अपराध) मा अनुसन्धान पक्रिया अगाडि बढेको सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।