मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।
घर स्थानान्तरणका लागि सङ्घीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रतिघर रु पाँच लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको आयोजनाका सब–इन्जिनियर खड्काको भनाइ छ ।
नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका स्थानीयवासीमा खुसी छाएको उक्त गाउँका स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ । रासस


