काठमाडाैं । ६० किलो सुन बरामद प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएराति ललितपुरबाट थप दुई चिनियाँ नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।उनीहरूलाई ललितपुरको एक अपार्टमेन्टबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन । ब्युरोका अनुसार साउन २ गते हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा चिनियाँमात्रै आधा दर्जन बढी व्यक्ति पक्राउ परिसकेका छन् ।
प्रहरीले बिहीवार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । एक जना भने बिरामी भएका कारण जमानीमा छुटेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद राजस्व अनुसन्धान विभागले करिब सय किलो भनिएको तस्करीको सुन बरामद गरेको थियो ।