–प्रीति रमण
केही साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर सिनामंगलबाट बरामद भएको सुन तस्करीको प्रकरणमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएको छ । सुन तस्करीमा उच्चपदस्थ व्यक्तिको संलग्नताको कारण यो विषयमा प्रहरीबाट मात्र नभई आयोग गठन हुनुपर्ने र आयोगले छानबिन र अन्य कानुनी प्रक्रिया अघि बढाउनुपर्ने तर्क एमालेले गर्दै आएको छ । आयोग गठन नभएसम्मका लागि एमालेले विरोधस्वरुप संसद् पनि अवरुद्ध गरेको छ । एमालेको सोमबार बसेको पार्टी सचिवालयको बैठकले पनि उक्त प्रकरणमा न्यायिक समिति गठन गर्न ढिलाइ गरे तस्करीका प्रमाणहरु नष्ट हुने निस्कर्ष निकालेको थियो । अहिले सुन तस्करीको अनुसन्धानसमेत फितलो बनेको एमालेको निष्कर्ष छ । बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे गम्भीर छलफल भएको र यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य रहेको धारणा राखेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोदाम छापा मार्दा पनि प्रमाण नभेटेको, संलग्नहरू फरार भएको र यसले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि बिग्रने जोखिम
बढेकाले पनि आयोग गठन हुनुपर्ने तर्क गरेको छ । एमालेकै विरोधका कारण संसद अवरुद्ध हुँदा अन्य जनचासोको विषय भने ओझेलमा परेका छन् । यसबीचमा सत्तारुढ गठबन्धनको बैठकले भनेएमालेले माग गरेअनुसार सुन काण्डको विषयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले जारी छानबिन रोक्न र प्रकरणलाई विषयान्तर गर्न आयोग गठनको विषय बाहिर ल्याइएको निष्कर्ष निकालेको छ । उच्चस्तरीय छानबिन आयोगको माग अहिलेको छानबिनलाई रोक्नु र विषयान्तर गर्नु हो भन्ने बैठकको निष्कर्ष थियो । यसअघि सत्ता गठबन्धनको ठूलो दल कांग्रेसको संसदीय दलको बैठकले पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट भइरहेको अनुसन्धान जारी राख्ने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनको निर्णयपछि भने एमाले संकटमा परेको छ । विगतमा जस्तो संसद् अवरुद्ध पारिराख्न अहिले सजिलो छैन । यसको चौतर्फी विरोध हुने गरेको छ । जनताको तलबभत्ता पाउने सांसदले संसद्मा जनताको काम गर्न पाउनुपर्ने र यसमा कसैको अवरोध हुन नपाउने मत बलियो हुँदै आएको छ ।
नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले त सभामुखलाई संसदको अवरोध खुला गरिदिन आग्रह गरेको भने अवरुद्ध भएको समयको तलबभत्ता नलिने घोषणा पनि गरेको छ । यसले पनि संसदमा अवरोध राखिराख्नु एमाले आफैलाई पनि थप अलोकप्रिय बन्ने बाटो हुनेछ । सत्ता गठबन्धनले पनि अबको उद्देश्य संसद्को अवरोध कसरी खुलाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पनि राष्ट्रपतिसमक्ष यसको भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको एमाले सत्ता गठबन्धन फेरिएपछि विपक्षमा धकेलिएको थियो । दोस्रो ठूलो पार्टी एमाले अहिले केन्द्रमा मात्र नभई प्रदेशमा पनि सत्ताविहीन छ । पुराना मात्र नभई पनि नयाँ दल पनि अब एमालेका लागि चुनौती बनेका छन् । यसबीचमा संसद् अवरुद्ध जस्तो अलोकप्रिय काम गर्ने हो भने एमाले थप संकटमा पर्न सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेपछि भने तौल घटेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकले जनाएको छ । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो । असार ३० मा हबकबकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ।।।रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ।।।ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । सुन तस्करीमा संलग्न आशंकामा हाल १७ जना हिरासतमा छन् । सीआईबीले संगठित तस्करीविरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ । तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिब, चिनियाँ नागरिक जिक्वाब लिन र तिब्बत मूलका
बेल्जियन नागरिक दावा छिरिबको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू जनाउँछन् । नेपाल प्रहरीको आधिकारीक तथ्यांकमा विगत नौ वर्षमा तस्करी गरी भित्र्याइँदै गरेको ६६० किलोग्राम सुन बरामद गरिएको उल्लेख छ ।
यस्तो तस्करीको सुन नेपाल हुँदै भारतसम्म पुग्ने गरेको छ । खुला सीमा तस्कहरुका लागि झनै सहज बनेको छ । भारत विश्वकै अग्रणी सुन उपभोक्ता मध्येको देश हो । वल्र्ड गोल्ड काउन्सिलले दिएको जानकारीअनुसार भारत सुनको गहनाको विश्वकै दोस्रो ठूलो बजार हो । सन् २०२१ मा त्यहाँ सुनका गहनामात्रै ६११ टन खरिद भएको उसले जनाएको छ । सन् २०२२ मा भारतमा कुल ७७४ टन सुन खपत भएको उसको तथ्याङ्कले देखाउँछ । सुन खपतमा चीन पहिलो स्थान र भारत दोस्रो स्थानमा रहेको देखिन्छ । काउन्सिलका अनुसार सन् २०२२ मा विश्वभरिको कुल सुन उत्पादन झन्डै ३६ सय टन थियो । यही बजारलाई तस्करले लक्षित गर्दै नेपाल हुँदै सुन तस्करी गरेको पाइन्छ । -जनधारणा साप्ताहिकबाट