काठमाडौं- व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन्। उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो।
इन्डिगो एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली हुँदै काठमाडौँ आएका उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुन प्रकरणको अनुसन्धानको क्रममा केहीअघि राजश्व अनुसन्धान विभागले व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो । रोहन राकेशका छोरा हुन्।
सुन प्रकरणको अनुसन्धान सुरुमा राजश्व अनुसन्धान विभागले गर्दै आएको थियो भने हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान कार्यालय (सिआईबी)ले यसको अनुसन्धान गर्दै आएको छ। सुन प्रकरणको अनुसन्धानको क्रममा राजस्व अनुसन्धान विभाग र सिआईबीबीच केही तालमेल नमिलेको बुझ्न सकिन्छ। सुन प्रकरणको अनुसन्धानबाट प्रहरीलाई लामो समय बाहिर राखिए पनि संसद् र सरोकारवालाहरुको दबाबपछि केन्द्रीय अनुसन्धान विभागलाई यसको जिम्मा लगाइएको हो। यसमा राजस्व अनुसन्धान विभागको बेखुसी प्रस्टै देखिएको छ।
रोहनलाई अध्यागमन विभागले शुक्रबार बिहान विमानस्थलबाट नियन्त्रणमा लियो। तर नियन्त्रणमा लिइएका रोहनलाई कता बुझाउने भन्ने स्पष्ट नहुँदा अध्यागमन विभागलाई समस्या परेको थियो। अध्यागमन विभागले नियन्त्रणमा लिएका भारतीय नागरिक रोहन १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेको पाइएको छ। रोहनको ट्राभल हिस्ट्रीकै आधारमा अध्यागमन विभागले उनलाई पक्राउ गरेको थियो। यद्यपि यसलाई मात्र अपराधको आधार बनाउने कि नबनाउने भन्ने विषयमा अधिकारीहरुबीच नै अन्यौल देखिएको छ।
रोहनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआईबीलाई बुझाउन खोज्दा उसले बुझ्न अस्वीकार गरेको छ। अध्यागमन विभागका एक अधिकारी भन्छन्, ‘हामीले उनलाई सिआईबीमा बुझाउन खोज्दा उहाँहरुले रोहनलाई पक्राउ गर्न पत्र नदिएको कुरा खुलाउनु भयो।’
यता सिआईबीका अनुसार भने उनलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको स्रोतले बताएको छ। यद्यपि उनको गतिविधि शंकास्पद रहेकोले रोहनलाई प्रहरीले ‘वाच’ भने गरिरहेको थियो।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार रोहनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर राजस्व विभागलाई बुझाएको हो।
‘अध्यागमन विभागले उनलाई नियन्त्रणमा लिएको थियो र प्रहरीले उनलाई राजस्व विभागसम्म पुर्याउन सहयोग मात्रै गरेको हो। प्रहरीले नै उनलाई नियन्त्रणमा लिएको भने होइन,’ उनी भन्छन्, ‘उनी पटक पटक नेपाल आउने गरेको पाइएकोले उनी शंकाको पाटोमा थिए तर प्रहरीले हालसम्म उनलाई नियन्त्रणमा नै लिनुपर्ने गरी प्रमाण जुटाएको छैन। अनुसन्धान भइरहेकै छ।’