काठमाडौं । देशैभरि आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुमा भारतीय सीमावर्ती क्षेत्रबाट तराईमा भित्रिएको यो रोगले यतिबेला पूरै देशलाई गाँजेको छ । कसैलाई आँखा बिझाउने, रातो हुने, आँशु आउने र पोल्ने जस्ता लक्षण देखिएको छ भने त्यो आँखा पाक्ने संकेत हो ।
काठमाडौं उपत्यका, तराईका सबैजसो जिल्ला र पहाडका कयौं जिल्ला अस्पतालमा यतिबेला आँखा पाकेका विरामीहरूको चाप बढेको छ । चिकित्सकहरूले आँखामा समस्या देखिए वा पाकेमा आफुखुशी औषधि प्रयोग नगर्न सुझाव दिएका छन् ।
आँखा पाक्ने रोगको प्रकोपको रुप लिएपछि जनकपुर उपमहानगरपालिकाले साउन २१ देखि २६ सम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ । अन्य कतिपय स्थानीय निकायले र विद्यालयहरूले पनि निश्चित दिनका लागि पठनपाठन बन्द गराएका छन् ।
खासगरी विद्यालय तहका बालबालिकामा आँखा पाक्ने रोग छिटो सर्ने हुँदा अभिभावक र सम्बन्धित विद्यालय परिवार सचेत हुनुपर्ने बिज्ञहरू बताउँछन् । एकजनाको कारणले सम्पूर्ण कक्षामै र पूरै विद्यालयमै आँखा पाक्ने जोखिम हुने गर्छ । आँखा पाक्ने रोगीको चाप बढेकैले तिलगंगा आँखा अस्पतालले छुट्टै ‘रेड आई क्लिनिक’ संचालन गरेको छ ।
लक्षण देखिने बित्तिकै आत्तिई हाल्नुपर्ने रोग भने यो होइन । सावधानी अपनायो भने सामान्यतया रुघाखोकी जस्तै बढीमा दुईसातामा आँखा पाक्ने रोग निको हुने गर्छ । धेरैजसो बर्षाको मौसममा नै आँखा पाक्ने रोग महामारीको रूपमा आउने गर्छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग फैलने भए पनि अहिले भने अधिकांशमा भाइरसका कारण आँखा ‘इन्फेक्सन’ देखिएको चिकित्सकहरूले बताएका छन् ।
आँखा पाक्ने रोग छिटोछिटो फैलिने रोग हो तर मुलतः आँखा पाक्ने व्यक्तिको आँशुबाट मात्रै यो सर्ने गर्दछ । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । आँशुको सम्पर्क हुन नदिन आँखामा हात नलाने, आँखा नमिच्ने, कालो चस्मा लगाएर हिंड्ने, हात धोइरहने र हात धोइसकेपछि धारा वा पानीको भाँडा साबुनले पखाल्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।
बरफले आँखा सेक्ने र सफा पानीले आँखा धोइरहने गर्न सकिए राम्रो हुन्छ । आफूखुशी औषधि नगर्न चिकित्सकको सुझाव छ । तर, आवश्यक औषधिका लागि चिकित्सकको परामर्श चाहिं लिनैपर्छ । आँखासहित टाउको समेत दुख्ने र कसैमा सामान्य ज्वरोको लक्षण देखिने भए पनि सामान्यतया नियमित खानपान बार्नु नपर्ने सुझाव चिकित्सकहरूको छ ।