मोरङ / विराटनगरका २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार विराटनगरबाट धरानका २९ वर्षीय सुजन तामाङलाई पक्राउ गरिएको हो। यस प्रकरणमा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरिसकेको छ।
गत साउन ५ गते इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलनजिकको सडकमा पानी खान रोकिएका चौधरीलाई लुटेरा समूहले गोली प्रहार गरी हत्या गरेको थियो।
प्रहरी अनुसन्धानका क्रममा हालसम्म तामाङसहित घटनाका मुख्य नाइके लेटाङका दीपक तिम्सिना, धरानका अनशन तामाङ, प्रकाश लिम्बू, र विराटनगरका अजय शर्मा पक्राउ परिसकेका छन्। बिहीबार पक्राउ परेका ४१ वर्षीय अजय शर्माले लुटेरा समूहका नाइके तिम्सिनालाई पेस्तोल उपलब्ध गराएको प्रहरीको भनाइ छ।
प्रहरीले बिहीबार सार्वजनिक गरेका तिम्सिना र तामाङको साथबाट हत्यामा प्रयोग गरिएको सेमी अटोमोटिक पेस्तोल, ९ राउन्ड गोली, दुई थान म्यागजिन, पाँचवटा कालो झोला, चारवटा ‘लेडिज ब्याग’, दुईवटा खुकुरी, पाँचवटा मोबाइल, औंठी र गोलीको खोका बरामद गरेको थियो।
सुन लुटेर लागुऔषध र हतियार खरिद
प्रहरी अनुसन्धानका क्रममा उनीहरुले लुटपाट गरिएका मोबाइल, गहनालगायतका सामान भारतको जोगवनी पुर्याएर बिक्री गर्ने गरेको खुलेको छ। साउन ५ गते बेलुका चौधरीको हत्यापछि लुटेराहरु चारकोसे जंगलभित्रबाट भागेर इटहरी हुँदै विराटनगर निस्किएको प्रहरीको भनाइ छ।
यसक्रममा उनीहरुले चौधरी र उनको साथमा रहेकी युवतीबाट लुटेको सिक्री र मोबाइल भारतको जोगवनीमा लगेर बिक्री गरेका थिए। प्रहरीका अनुसार चौधरीको हत्यामा प्रयोग गरिएको पेस्तोल त्यसअघि लुटिएका गहनासँग साटेर विराटनगर आएको देखिएको छ।
तिम्सिनालाई पेस्तोल उपलब्ध गराएका शर्माको भारतको जोगवनीमा अपराधिक छविका व्यक्तिसँग सम्पर्क भएको देखिएको प्रहरीले जनाएको छ। सोही पहिचानका आधारमा शर्माले पेस्तोल विराटनगर ल्याएर बिक्री गर्ने गरेको प्रहरीको बुझाइ छ।