झापा– झापाको चारआलीबाट बुधवार प्रहरीले ठूलो परिमाणको सुपारी बरामद गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले ६१ बोरा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ च ८९६७ नम्बरको पिकअप भ्यानमा उक्त सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
रिजालले गाडीमा २ हजार ८ सय ५० किलो सुपारी फेला परेको बताए । प्रहरीका अनुसार सुपारीको बजार मूल्य दश लाख रुपैयाँ भन्दा माथि छ ।
प्रहरीले पिकअप भ्यानसहित सुपारी राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयमा बुझाएको छ । पिकअप भ्यानसँगै चालक मोरङ उर्लाबारी नगरपालिका–७ का १९ वर्षीय आकाश धिमाल पक्राउ परेका छन् ।