काठमाडौँ- काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ।
प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको उनको मोबाइलमा उनले मृत्युभन्दा अगाडि लेखिएको सुसाइड नोट भेटिएको प्रहरीले जानकारी दिएको हो।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उनको मोबाइलमा एक पाना लामो सुसाइड नोट भेटिएको हो। सुसाइड नोटमा उनले कसैलाई दोष नदिन र सबै गल्ती आफ्नै भएको बताएको प्रहरी स्रोतले बताएको छ। सुसाइड नोटमा भएको कुरालाई उद्धृत गर्नै उनले भने, ‘ इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुसाइड नोटमा उनले आफ्ना सबै साथीहरुलाई सम्झिएका छन्। सारुकले आफ्नो आमालाई सम्बोधन गर्दै ‘अर्को जुनीमा पनि उहाँकै कोखबाट जन्मिन पाउँ’ भनेका छन् ।
आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका ताम्राकारको मोबाइल जाँच्न नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो।
अभिनेता सारुक असार २१ गते काठमाडौंको रातोपुलस्थित आफ्नै निवासमा भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । ३१ वर्षीय ताम्राकारले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लन्डनमा’लगायत चलचित्रमा अभिनय गरेका थिए । उनको चलचित्र रानीबाट डेब्यु गरेका थिए।
सारुक ‘ह्यासट्याग माया’ फिल्मको सुटिङ सुरु भएयता निर्माताले नै भाडामा लिएको बुढानीलकण्ठस्थित एक घरमा बस्दै आएका थिए। उनका बुबा सानु ताम्राकार भन्छन्, ‘फिल्मको सुटिङ सुरु भएदेखि नै करिब ६/७ महिना अघिबाट नै छोरा बुढानीलकण्ठतिरै बस्ने गरेको थियो। कहिलेकाँहि घर आउँथ्यो, बुबा बिजी छु फिल्मको कामले गरेर भनेर भनिरहन्थ्यो। केही संवादहरु म आफैँले पनि लेखिरहेको छु भन्थ्यो, काममा नै बिजी हुन्थ्यो।’
बुढानीलकण्ठको घर अभिनेत्री नम्रता श्रेष्ठको आग्रहमा भाडामा लिइएको थियो। नम्रताले आफ्नो घर बाहिर नबसी क्यारेक्टरमा बस्न नसक्ने भनेपछि घर भाडामा लिएको र दैनिक योग टिचर आएर उनलाई योग सिकाउने गरेको खुलेको अनुसन्धानकै क्रममा खुलेको छ। नम्रताले आफूलाई योग सिकाउने व्यक्तिलाई दैनिक ५ हजार रुपैयाँ दिने गरेकोसमेत फिल्म सम्बद्ध स्रोतले जानकारी दिएको छ। पछिल्लो समय सारुक र नायिका नम्रता श्रेष्ठ प्रेम सम्बन्धमा रहेको पनि निर्माण पक्षले बताएको छ।
यसअघि सारुकको आत्महत्यासँग अभिनेत्री नम्रता श्रेष्ठको नाम जोडिएर थुप्रै समाचारहरु प्रकाशित भएका थिए। धेरै कलाकारहरुले सारुकको मृत्युको कारण आत्महत्या नभई हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा आवाज समेत उठाएका थिए। यद्यपि सारुकको सुसाइड नोटमा भने नम्रतासँग जोडिएको कुनै पनि कुरा नभेटिएको स्रोतले बताएको छ। सारुकले आत्महत्या गर्नु अघिसम्म पनि नम्रता र सारुक सँगै रहेका थिए। सारुकको मृत्यु भएसँगै नम्रता हालसम्म पनि सम्पर्कविहिन नै छिन्।