नेपालगञ्ज / नेपालगञ्जमा भएका चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ। प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन्।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न रहेको पाइएको बताए। प्रवक्ता डाँगीका अनुसार, ६ जनामध्ये ११ वर्षका दुई जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने चार जनाविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ।
विगतमा चोरीका घटनामा पक्राउ परे पनि उमेर सानो भएकाले छोडिएकाहरु फेरि त्यही काममा लागेको पाइएको छ। यी बालकले सटर फोर्ने, झ्यालको भेन्टिलेटरबाट छिरेर चोरी गर्ने गरेको स्वीकारेका छन्।