काठमाडौँ / सामाजिक सञ्जाल ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघिको परिचित नीलो ‘चरो’ लाई परिवर्तन गरेर सोमबार साँझदेखि ‘एक्स’ राखिएको हो
ट्वीटरका मालिक इलन मस्कले आइतबार साँझ आफ्ना कर्मचारीलाई इमेल गर्दै कम्पनी ‘एक्स’ मा परिणत हुने उल्लेख गरेका थिए । मस्कले ट्वीटरको स्वामित्व ग्रहण गर्नेबित्तिकै कम्पनीलाई ‘एक्स कर्पोरेसन’ मा परिणत गरेका थिए ।
अमेरिकी समयअनुसार आइतबार मध्यरातदेखि मस्कले एक्सबारे ट्वीट गर्न सुरु गरेका थिए । पहिले ‘एक्स’ अक्षर मात्रै ट्वीट गरेका उनले त्यसपछि आफूहरूले बिस्तारै ट्वीटरको अहिलेको ब्रान्ड र चरो दुवैलाई बिदा गर्ने घोषणा गरेका थिए । यस्तो कार्य निकै अघि नै भइसकेको हुनुपर्ने दाबी गर्ने मस्कले आफ्नो प्लेटफर्मलाई चिनियाँ विच्याटजस्तै सुपर एप अर्थात् धेरैथोक गर्न मिल्ने गरी विकास गर्न खोजेको विश्लेषकहरूको अनुमान छ । ट्वीटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनः ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको प्रतिक्रिया दिएकी छन् ।
ट्वीटरको आम्दानी आधाभन्दा कम भएको भन्ने मस्कको स्विकारोक्ति र प्रतिस्पर्धी मेटाको थ्रेड्सले द्रुत गतिमा प्रयोगकर्ता तानिरहेको सन्दर्भमा अहिलेको अपर्झट प्रयत्नले प्लाटफर्मका मौलिक प्रयोगकर्तालाई अझै अलग गराउने फरेस्टर रिसर्चका निर्देशक माइक प्रोल्क्सले रोयटर्ससँगको कुराकानीमा भनेका छन् । ‘एकातर्फ हामी उनले आफ्नो चिरपरिचित ब्रान्डलाई त्याग्न लागेको तर्क दिन सक्छौं,’ माइक भन्छन्, ‘अर्कोतर्फ ट्वीटर आफ्ना पुराना दिनलाई बिस्तारै फेर्दै फरक दिशा र फरक प्रयोगकर्तातर्फको नयाँ बाटोमा अघि बढेको पनि भान हुन्छ ।
सन् २००६ को मार्चमा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र एभान विलियम्सले चर्चित चरोसहित स्थापना गरेको ट्वीटर त्यही वर्षको जुलाईबाट सार्वजनिक प्रयोगका लागि उपलब्ध भएको थियो । त्यसयता प्लेटफर्मको लोगोको रङ र शैलीसँगै प्रमुखहरू फेरिए पनि मूल लोगो र ट्वीटको शैली उस्तै रहँदै आएकामा सन् २०२२ मा मस्कले खरिद गरेपछि विभिन्न सफल र असफल प्रयोग हुँदै आएको छ । त्यसयता मस्कले कम्पनीका आधाभन्दा बढी कर्मचारीलाई अवकाश दिइसकेका छन् । अवकाश प्रक्रियालाई लिएर अनेक कानुनी र प्राविधिक झमेलामा उनी पर्दै आएका छन् ।
अहिले प्रस्तावित एक्स डटकम सन् १९९९ मा मस्कले ह्यारिस फ्रिकर, क्रिस्टोफर पायने र एड होसँगको साझेदारीमा क्यालिफोर्नियाको पाओ आल्टोमा स्थापना गरेको अनलाइन बैंक हो । सन् २००० मा एक सफ्टवेयर कम्पनीसँग मिलेर एक्स डटकमलाई पेपलमा परिणत गरेका मस्क र उनका साझेदारले सन् २००२ मा इबेलाई उक्त कम्पनी डेढ अर्ब डलरमा बिक्री गरे । २०१५ यता पेपल स्वतन्त्र कम्पनी बनेपछि २०१७ मा मस्कले एक्स डटकमको डोमेन पेपलसँग पुनः खरिद गरेका थिए, अहिले एक्सडटकमलाई ट्वीटरमा रिडिरेक्ट गर्ने गरी राखिँदै आएको थियो ।
केही साताअघि पैसा नतिर्ने प्रयोगकर्ताले दैनिक हेर्न मिल्ने पोस्टको कोटा तोक्न लगाएका मस्कले पछिल्ला दिनमा भेरिफिकेसन नकिन्नेले पठाउन मिल्ने डिरेक्ट म्यासेज (डीएम) को संख्या सीमित गर्ने र बिस्तारै लामा–लामा लेखहरू पोस्ट गर्न दिने मात्रै नभई भेरिफाई गरेका कम्पनीलाई लिंक्डइन शैलीको रोजगारीका अवसर पनि प्रकाशित गर्न दिने घोषणा गरिएको छ । ४४ अर्ब डलरमा खरिद बिक्री भएयता घट्दो विश्वसनीयता र समस्याको चाङसँग जुध्दै आएको सो कम्पनीलाई मस्कका पछिल्ला प्रयासले कुन दिशा दिने हो, हेर्न रोचक हुने प्रविधि विज्ञहरूको धारणा छ ।


