काठमाडौँ / प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूले ४५ लाखभन्दा बढी रकम ठगी गरी ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको उजुरी झापा प्रहरीमा परेको थियो ।
जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जीसमेत जारी भएपछि उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक झापा पठाएको जनाएको छ ।