काठमाडौँ – काठमाडौँको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर नाबालिग बलात्कार गरेको घटनाका अभियुक्त जेल चलान भएका छन्।
जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार अभियुक्त कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।
३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपि सिद्धिविक्रम शाहका अनुसार जेठ ३१ गते बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
एलओडी क्लबका दुई सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाललाई हाजिरी जमानीमा छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी सीताराम रिजालले दुवै जनालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिए।
नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। नाबालिग एसइई परीक्षा दिएर बसेको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ।