नेपालका कम्युनिस्ट दलहरुबीचको एकताको चर्चा फेरि सुरु भएको छ । विगतमा तत्कालीन दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि त्यो गठबन्धन लामो समयसम्म टिक्न सकेन । नेकपा विभाजन केही वर्षमा नै फेरि यसको आवश्यकता र औचित्यमाथि चर्चा सुरु भएको हो । हालै मात्र सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच कार्यगत एकताका लागि समाजवादी मोर्चा गठन भएको छ । त्यसयता नै अब कम्युनिस्ट पार्टीहरुबीच पनि एकताको आवश्यकताबारे छलफल सुरु भएको छ ।
हाल सत्तामा रहेको माओवादी नेकपा भंग भएयता नेपाली कांग्रेससँगको गठबन्धनमा छ । गत पुसमा नयाँ सरकार गठन हुने समयताका कांग्रेसले समर्थन नगरेपछि पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायत दलको सहयोगमा प्रधानमन्त्री बनेका थिए । तर, पछि राष्ट्रपति चुनावमा फेरि कांग्रेसलाई समर्थन गर्ने भएपछि माओवादीको एमालेसँगको गठबन्धन टुटेको थियो । तर, तिनै प्रचण्ड फेरि नेकपा ब्युँताउने अभिलाषमा छन् । विभिन्न सार्वजनिक मञ्चबाट उनले नेकपातिरै फर्किने मनसाय बनाएको र कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका छन् । एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने उनको भनाइ छ ।
विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको प्रचण्डले जनाएका छन् ।
हालको सत्ता गठबन्धन हेर्दा पनि यो प्राकृतिक देखिँदैन । सत्ताघटक मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सैद्धान्तिक, नीतिगत र उद्देश्यगत हिसाबले पनि कुनै मेल देखिँदैन । वामपन्थी दल माओवादीको सिद्धान्त कम्युनिस्ट दर्शन प्रेरित र गन्तव्य समाजवाद छ । अन्य कम्युनिस्ट दलको वास्तविक सिद्धान्त र गन्तव्य यही हो । तर, दक्षिणपन्थी दल कांग्रेस पुँजीवादलाई प्रोत्साहन गर्ने र त्यहीअनुसार गतिविधि गर्दै आएको पार्टी हो । त्यसकारण यी दुई दलबीचको सहकार्य केवल सत्ताप्रेरित र शक्तिको बाँडफाँटमा मात्र आधारित छ भन्नु कुनै अत्युक्ति हुँदैन । सत्ताको सन्तुलन नमिल्दा यी दुई दलबीचको गठबन्धनमा समस्या आएको हामीले देखेकै छौं ।
त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृति र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजबाद १ तर अहिले पनि सहयात्रा समाजवाद विरोधीहरुसँग चलिरहेको छ । यदि बाटो नै गलत छ भने गन्तव्यमा पुग्न असम्भव नै हुन्छ । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र बिश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने नेकपा ब्यूँताउनै पर्छ । तर, यस क्रममा विगतमा जस्तो जनताको आशा सृजना गरेर त्यसलाई बीचमै निमोठ्ने प्रयास नेताहरुबाट गर्नुहुँदैन । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् , आगे सबैलाई चेतना भया ! -जनधारणा साप्ताहिकबाट